च्याउ खेती प्रविधि सम्बन्धि महत्वपूर्ण प्रकाशनहरुको सहज रुपमा उपलब्ध गराउनको लागि ।
"Mushrooms of Nepal"- डा. महेश कुमार अधिकारी एक परिचय
वरिष्ठ च्याउ विज्ञ डा. महेश कुमार अधिकारीकाे Mushrooms of Nepal पुस्तककाे तेस्रो संस्करण हालै प्रकाशित भएकाेमा उहाँ र उहाँको परिवारलाई म र मस नेपालकाे तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपालकाे लागि मात्रै हाेइन विश्वकाे ढुसी जगतमा डा. अधिकारीकाे अध्ययन, अनुसन्धान, शाेध र खाेज अत्यन्त महत्वपूर्ण एवं अतुलनिय छ । हालसम्म नेपालमा गरिएको सर्वेक्षण र अनुसन्धानवाट करिब ७२१ जाति र २४६७ प्रजातिका ढुसी तथा च्याउहरू मध्ये १२७१ प्रजातिका च्याउहरूकाे बारेमा उल्लेख गरिएकाे यस पुस्तक नेपालकाे च्याउ इतिहासकाे लागि ठूलो उपलब्धि हाे । नेपालमा पाइएका च्याउहरू मध्ये विश्वकाे लागि नै ५ नयाँ जाति र २४७ प्रजातिकाकाे वर्णन गरिएकाेमा नेपालमा मात्रै पाइने १३१ प्रजातिका च्याउहरूकाे सुचिकृत गरिएका डा. अधिकारीकाे यस Mushrooms of Nepal पुस्तक नेपालकाे राष्ट्रिय सम्पत्ति हाे । डा. अधिकारीका अनुसार नेपालमा पाइएका यी च्याउहरू मध्ये नेपालकाे उष्ण प्रदेशमा १२%, समशितोष्ण प्रदेशमा ४०%, शिताेष्ण प्रदेशमा ७० %, शीत प्रदेशमा १३% र हिमाली क्षेत्रमा ५% पाइएकाे उल्लेख छ । नेपालमा पाइएका च्याउहरू मध्ये ३५० भन्दा बढी नयाँ ढुसी तथा च्याउहरू डा. महेश कुमार अधिकारीले मात्रै प्रकाशित गर्नुभएको छ भने उहाँकै नामबाट प्रकाशित भएकाे एक ढुसी "पक्सिनिया अधिकारी आई" (Puccinia adhikarii Ono) हुन र अर्को च्याउ "सिलस अधिकारी आई " (Suillus adhikarii Das, chakraborty & Cotter) हुन ।
च्याउ र वनस्पतिमा लाग्ने राेगहरूको संकलन, अध्ययन र अनुसन्धानकाे लागि ४ दशक देखी निरन्तर लागिरहेका डा. अधिकारी नेपालकाे पूर्व मेची देखि पश्चिम महाकालीसम्म, हिमाल पहाद र तराईका प्राय सबै ठाउँहरूकाे भ्रमण गरि विभिन्न समयका विभिन्न किसिमका महत्वपूर्ण पुस्तकहरू, लेखहरू, दस्तावेजहरु प्रकाशित गर्नुभएको छ । ती मध्ये Mushrooms of Nepal (2000, 2014, 2024), Fungi of Lalitpur, Nepal (2003), Poisonous Mushroom of Nepal (2009), नेपालका च्याउहरू छाेटाे जानकारी (२०१८) निकै प्रसिद्ध पुस्तकहरू हुन । हालै तेस्रो संस्करणको रुपमा प्रकाशित डा. महेश कुमार अधिकारीकाे यस Mushrooms of Nepal पुस्तक पहिलो र दाेस्राे संस्करण भन्दा निकै परिस्कृत छ । ५५२ पेजकाे माेटाे पुस्तक पहिलाे र दाेस्राे संस्करणकाे तुलनामा पढ्न र बुझ्नका लागि विषयवस्तुलाई अझै सरलीकृत गरिएकाे छ । रंगिन फाेटाेहरुलाई पनि च्याउकाे जाति अनुसार छुट्याइएको छ जसले गर्दा च्याउकाे जाति प्रजाति अनुसार च्याउकाे सरल पहिचानकाे लागि सहज भएकाे छ । आर्थिक भार सकेसम्म कम गर्नको लागि रंगिन फाेटाेहरूलाई विषयवस्तुकाे अन्त तिर राखिएकाे हुन सक्छ तर च्याउकाे जाति र प्रजातिको सुचिकृत गरिएकै नामावली अनुसार फाेटाेहरू राख्न पाएकाे खण्डमा सुनमा सुगन्ध हुनेथियो । तथापि नेपाली च्याउकाे अध्ययन तथा अनुसन्धान क्षेत्रमा हालसम्म पनि डा . अधिकारीकाे एकल प्रयासबाट यति ठूलाे याेगदान रहनु अत्यन्त गाैरवमय कार्य हुन । डा. अधिकारीले एउटा खण्डमा एउटा कबिता पनि प्रकाशित गर्नु भएकाे छ " म त च्याउ भएँछु " । निश्चय पनि उहाँले आफ्नाे भावना कबितामा दर्शाउनु भए झै डा. महेश कुमार अधिकारी एक वरिष्ठ च्याउ विज्ञकाे रूपमा अध्ययन र अनुसन्धानकाे रचनात्मक कार्यमा मात्रै सिमित नभकन उहाँकाे सिंगाे जीवनलाई नै तन मन धनले अर्पित गर्नु भएकाे छ । उहाँकाे भावना उहाँकाे आत्माले नै च्याउ र ढुसी जगतलाई आफ्नाे परिवार र जीवनसंगिनीकै रूपमा अँगालेर आजसम्मकाे यात्रामा एकल ध्रुवताराकाे रुपमा स्थापित गर्नुभएको छ । Mushrooms of Nepal राष्ट्रकाे एक अमूल्य सम्पतिको रूपमा जगेर्ना गर्नका लागि राज्यले जति अपनत्व लिनु पर्ने हाे, नेपालको च्याउ जगतलाई जति संरक्षण, विकास गर्नुपर्ने हाे राज्य सदैव चुकिरहेको अवस्था छ । यसै सन्दर्भमा डा. अधिकारीका सुपुत्र गिरिश अधिकारी सर्वाधिकार रहेकाे यस पुस्तकलाई धर्मपत्नी श्रीमती कमला कुमारी अधिकारीले प्रकाशित गर्नु भई सिगाे परिवार च्याउ प्रति समर्पित भएकाेमा हार्दिक आभार एवं धन्यवाद टक्र्याउन चाहन्छु । अन्तमा नेपालकाे च्याउ जगतको अध्ययन अनुसन्धानमा गर्न मार्ग निर्देशक भूमिकाकाे लागि अत्यन्तै उपयुक्त पुस्तक समस्त विद्यार्थी, अन्वेषक, अनुसन्धानकर्ता तथा पुस्तकालय , कलेज विश्वविद्यालयकाे लागि जीवन पर्यन्त उपयाेगी पुस्तक Mushrooms of Nepal संग्रहित गर्नु हामी सबैकाे दायित्व हाे । धन्यवाद सुमन महर्जन Founder Mush nepal
Share this on Facebook