Our Publications

च्याउ खेती प्रविधि सम्बन्धि महत्वपूर्ण प्रकाशनहरुको सहज रुपमा उपलब्ध गराउनको लागि ।

काेभिड-१९ काे कारण च्याउ खेतीमा पारेकाे प्रभाव र भविष्य

-सुमन महर्जन

काेभिड-१९ काे कारण च्याउ खेतीमा पारेकाे प्रभाव र भविष्य

नेपालमा माैसमी रुपमा सबैभन्दा बढि मंसिर,पाैष र माघ महिनामा च्याउ च्याउ खेती गरिन्छ । याे माैसममा च्याउ खेती गर्दा राेग किरा नलाग्ने, नबिग्रने हुनाले धेरै भन्दा धेरै च्याउ खेती गरिन्छ ।

यस प्रकार एकै समयमा धेरै च्याउ खेती गरिने भएकोले उत्पादन पनि साेही बमाेजिम धेरै हुन्छ र प्रत्येक वर्ष च्याउ काे मूल्यमा निकै गिरावट आउँछ । यस वर्ष तुलनात्मक रुपमा बिगतका वर्षहरुमा भन्दा निकै लामो समयसम्म मूल्यमा धेरै कमी आएको छ ।

च्याउ छाेटाे समयमा उत्पादन हुने प्रमुख नगदेबाली हुन । मूल्यकाे गिरावटका कारण एक पटककाे नाेक्सानबाट माथि उठ्न र व्यवसायलाई स्थिर बनाइराख्नकाे लागि पुन अर्को बाली लगाउनु ज्यादै नै आवश्यक र महत्वपूर्ण हुन्छ । तसर्थ च्याउ किसानहरुकाे लागि चैत्र महिना निकै नै महत्वपूर्ण महिना हाे । चैत्र महिना अलिकति गर्मी चढ्दै जाने र बजारमा च्याउ सकिदै जाने र मूल्य पनि बढ्दै जाने हुन्छ । र च्याउकाे बेमाैसमी खेतीकाे शुरुवात गर्ने महिना पनि हाे चैत्र ।

तर याे वर्ष काेभिड-१९ काे कारण विश्व नै प्रभावित भएको हुनाले नेपालमा पनि चैत्र १० गतेदेखि शुरु भएको Lockdown ले अरु सबै व्यवसायलाई झै च्याउ व्यवसायलाई नराम्रोसँग प्रभावित गरेको छ ।

अन्य तरकारी बालीकाे तुलनामा च्याउकाे Selflife (आयु) पनि निकै छाेटाे हुने भएकाले
काेभिड -१९ का कारण चैत्र महिना भर उत्पादन भएकाे च्याउकाे बजारीकरणमा निकै समस्या आइपर्याे । समस्याका बाबजुद च्याउ कृषक, व्यवसायी, संघ संस्थाकाे पहलमा बजारीकरण पनि भइरहेको छ । साथै बजारीकरणमा जान नसक्ने किसानहरूले बाध्यताबस उत्पादित च्याउलाई सुकाइरहेको अवस्था छ । यदपि नेपालमा सुकुटी च्याउकाे भरपर्दो बजार छैन ।

हाल उत्पादन भइरहेको च्याउको व्यवस्थापन त जसाेतसाे भइरहेको छ र गरिएला तर माघ फागुन महिनामा लगाएको च्याउकाे उत्पादन सकिदै जाने र चैत्र महिनामा नयाँ बाली लगाउन नपाएकाे कारणले गर्दा च्याउ उत्पादक किसान, व्यवसायी, बीउ उत्पादक, च्याउ मजदुर र उपभोक्ताहरु भने प्रभावित भएको छ र अब लामाे समय सम्मकाे लागि प्रभावित हुने निश्चित छ । जसलाई निम्नानुसार बुदाँगत रुपमा प्रस्तुत गरिएको छ ।

१) काेभिड -१९ काे कारण सबैभन्दा पहिले च्याउकाे बीउ उत्पादक कम्पनीहरु प्रभावित भयाे । बिशेष गरि माघ र फागुन महिना च्याउ उत्पादन भइरहने र नयाँ बाली कम लगाउने भएकोले च्याउकाे बीउ बिक्रीमा निकै न्यून हुन्छ र च्याउकाे बीउकाे बिक्री वितरण कार्य चैत्र महिनामा धेरै हुन्छ तर Lockdown ले गर्दा अर्डर गरिएको बीउ पनि किसानले प्रयोग गर्ने बाताबरण बनेन । उत्पादित च्याउकाे बीउ खेर गएको छ । नयाँ बनाउने अबस्थामा रहेन र च्याउकाे बीउ कम्पनी नराम्रोसँग प्रभावित भइरहेको छ ।
२) त्यसै गरि पराल बिक्री गर्ने किसान, पराल ढुवानी गर्ने व्यवसायी र च्याउकाे फार्ममा काम गर्ने हजाराैं मजदुरहरु पनि नराम्रोसँग प्रभावित भएको छ ।
३) लामो समयदेखि च्याउकाे भाउ नआएर पिडित किसानहरू नयाँ उत्पादित च्याउकाे ब्यवस्थापन गर्न नसकेर र नयाँ बाली लगाउन नपाएर नराम्रोसँग प्रभावित भएको छ ।

यस प्रकार च्याउ व्यवसायमा नराम्रोसँग प्रभावित भए अनुसार हाम्रो देशमा लामाे समय सम्म असर गर्ने निश्चित छ र च्याउ ब्यवसायीकाे भविष्यमा समेत ठूलाे प्रभाव पर्ने कुरालाई निम्न अनुसार बुदाँगत रुपमा प्रस्तुत गर्न चाहन्छु ।

क) अबकाे केही दिन पछि च्याउ काे उत्पादन घट्दै जानेछ । नयाँ बाली लगाउन नसकेकाे हुनाले केही हप्ता पछि बजारमा च्याउ उपलब्ध नहुने निश्चित छ ।
ख) नयाँ बाली लगाउन नसकेकाे हुनाले सबै च्याउ किसान, ब्यबसायी, बीउ उत्पादक र मजदुरहरुकाे आयआर्जन थप्प हुनेछ । उपभोक्ता च्याउ खानबाट बन्चित हुने छ ।
ग) कथंकदाचित बैशाख ३ गते देखि वातावरणमा सहज भएर गएतापनि च्याउ उत्पादन धेरै दिन पछि धकेल्ने निश्चित छ र बैशाख महिना पछि गर्मी बढने र च्याउकाे बाली लगाउनेमा स्वत कमी आउनेछ । जसले गर्दा च्याउ ब्यबसायी महिनाै महिना प्रभावित हुने निश्चित छ ।
घ) नेपालकाे च्याउ व्यवसायमा भाेलिका दिनमा आइपर्ने सबैभन्दा ठूलाे चुनाैती भनेकाे अब च्याउकाे अायात नै हुने देखिन्छ । किनभने विश्वमा काेभिड-१९ काे प्रभाव घटेकाे अबस्थामा भारत र नेपालमा Lockdown खाेल्ने बित्तिकै भारतीय च्याउकाे आयात बढ्नेछ र नेपालमा च्याउकाे उत्पादनमा धेरै समय लाग्ने र कमी आउने निश्चित छ ।
ङ) विगतका समयमा पनि च्याउकाे आयात बढिरहेको र नियमित रूपमा निकै नै सस्तोमा भारतीय च्याउ आउने भएकाेले व्यापारीहरु पनि नेपाली च्याउ भन्दा भारतीय च्याउकाे व्यापारबाट प्रभावित भइरहेको अवस्था छ ।
च) यस प्रकार नेपाली च्याउकाे उत्पादन नभएकाे अवस्थामा आयातित च्याउकाे बजार र व्यापार बढ्ने हुँदा पछिका दिनहरुमा नेपाली च्याउ किसानहरूलाई झनै प्रतिकुल प्रभाव पर्ने देखिन्छ ।

माथि उल्लेखित कुराहरूकाे आधारमा समस्या नै समस्यामा च्याउ ब्यबसायी परिरहेको र निकट भविष्यमा पनि नराम्रोसँग प्रभावित हुने देखिएको हुनाले यस प्रकारकाे समस्याबाट कसरी जुझ्ने र भविष्यमा आइपर्ने समस्यासँग कसरी सामना गर्ने भन्ने बिषयमा छलफल, बहस र अन्तक्रिया गर्नु अति आवश्यक छ ।
यहाँ प्रस्तुत गरिएको बिषयमा आधारित भएर छलफलकाे लागि केही बुँदाहरू प्रस्तुत गरेको छु ।
* तत्काल च्याउकाे नयाँ बाली लगाउनकाे लागि सहज वातावरण बनाइदिने ।
* च्याउकाे कच्चा पदार्थ पराल लगायत अन्य ढुवानीमा सहज वातावरण बनाइदिने ।
* च्याउ तथा च्याउ काे बीउ ढुवानीमा सहज बाताबरण बनाइदिने ।
* च्याउकाे नयाँ बाली लगाउन वातावरण बनाइदिनुका साथै प्राेत्साहित गर्ने ।
* अन्य खेती पनि प्रभावित भएको हुनाले अन्य खेतीकाे तुलनामा निकै छाेटाे समयमा नै च्याउकाे उत्पादन हुने भएकाले नेपालमा आम उपभोक्तालाई सहज र छिटाे छरिटाे रुपमा तरकारी आपूर्तिकाे लागि निकै ठूलो र महत्वपूर्ण बिकल्प भएको हुनाले नेपाल सरकारले गंम्भिरताका साथ लिनकाे लागि आग्रह गर्दछु ।

माथि उल्लेखित विषयमा नेपाल सरकार सम्बन्धित निकाय, च्याउ व्यवसायी सबै मिलेर सहज वातावरण तथा समाधान खाेज्नकाे लागि प्रयत्नशील रहाैं ।
धन्यवाद ।

सुमन महर्जन
निर्देशक: च्याउ अनुसन्धान तथा तालिम केन्द्र
संस्थापक: मस नेपाल ।

Share this on Facebook