Our Publications

च्याउ खेती प्रविधि सम्बन्धि महत्वपूर्ण प्रकाशनहरुको सहज रुपमा उपलब्ध गराउनको लागि ।

बिषालु च्याउबाट कसरी बच्ने?

-सुमन महर्जन

बिषालु च्याउबाट कसरी बच्ने?

नेपालमा वर्षै पिच्छे जंगली च्याउ खाएर बिरामी हुने र मृत्यु हुनेको संख्या बढिरहेको छ । यस वर्ष पनि बिभिन्न जिल्लाहरुमा च्याउ खाएर बिरामी भएकाे समाचार आउन थालिसकेको छ । 


यस वर्ष चाँडै नै निरन्तर पानी परिरहेकोले जंगली च्याउकाे उत्पादन पनि ह्वात्तै बढ्न थालेको छ भने लामाे समय देखि काेभिड -१९ काे कारण लकडाउन भइरहेको अवस्थामा खाद्यान्न जाेहाे गर्नकाे लागि पनि जंगली च्याउ संकलन बढेको पाइन्छ ।

 

जंगली च्याउ मानिसहरूले ढुङ्गे युग देखि नै प्रयोग र उपभोग गरिदै आइरहेको हाे । इतिहासमा उल्लेख गरिए अनुसार राेमन सम्राट क्लाउडियस द्वितीय र क्लेमेन्ट चौंथो पनि शत्रुले दिइएकाे बिषालु च्याउकाे सेवनबाट मृत्यु भएको हाे भने विश्व प्रसिद्ध माइकाेलाेजिष्ट पाउल स्टामेटका अनुसार सिद्धार्थ गौतम बुद्ध पनि बिषालु च्याउकाे सेवनबाट बिरामी भइ परिनिर्वाण प्राप्त गर्नुभएको हो । जुन कुरा हिन्दी साहित्यहरुमा पनि उल्लेख गरिएकाे पाइन्छ । 

 

यसका अलावा च्याउकाे पाैष्टिक गुण र स्वादकाे कारण जंगली च्याउकाे संकलन र उपभाेग परापूर्वकालदेखि हालसम्म निरन्तर हुदै आइरहेको छ । 

 

नेपालमा पनि जंगली च्याउकाे संकलन र उपभोग गरिदै आइरहेको र बिषालु च्याउबाट वर्षै पिच्छे मानिसहरूको मृत्यु हुने गरेकोले बिषालु च्याउबाट कसरी बच्ने भन्ने सन्दर्भमा यहाँ केही चर्चा गर्ने प्रयास गर्दैछु ।

 

बिषालु च्याउबाट कसरी बच्ने भन्ने सवालमा नेपालका वरिष्ठ च्याउ बिज्ञ डा. महेशकुमार अधिकारी जंगली च्याउ सम्बन्धी  ज्ञान र पहिचान नै सबैभन्दा महत्वपूर्ण कुरा मान्नु हुन्छ । साथै उहाँले आफ्नो पुस्तक नेपालका च्याउहरूमा जंगली च्याउ र बिषालु च्याउ सम्बन्धी छुट्टै अध्यायमा वर्णन पनि गर्नु भएको छ । 

 

वास्तवमा जंगली बिषालु च्याउबाट हालसम्म तिनै मानिसहरू विरामी परेका छन वा मृत्यु भएका छन् जसले निरन्तर जंगली च्याउ काे सेवन गर्दै आइरहेको छ र जसले आफूलाई जंगली च्याउकाे पहिचान गर्न सिपालु ठानेकाे हुन्छ । नेपाली एउटा उख्खान झै ईश्वर सधै दाहिने हुने गर्दैन कि सधै खाइरहने जस्तो खाद्य च्याउ नभइकन कहिलेकाहीँ संकलनमा बिषालु च्याउ पनि पर्ने हुन्छ । विश्वमा त्यस्ता हजाराैं हजार जाति एवं प्रजातिक जंगली च्याउहरू पाइन्छ जुन हेर्दा उस्ता उस्तै देखिन्छ तर बिषालु हुने गर्दछ । 

 

बिशेष गरि बिषालु च्याउहरूमा Amanita प्रजातिका च्याउहरू पनि पर्दछ । विश्वकाे लागि  लागि  नेपालमा पत्ता लागेकाे  परापूर्वकालदेखि नै चेपाङ जातिले जंगलबाट संकलन गरि खाने गरिएको Amanita chepangiana (Tullos & Bhandaey 1992)  खाद्य च्याउ हाे तर झट्ट हेर्दा उस्ता उस्तै देखिने प्राय धेरै जसो मानिसहरूलाई झुक्याउने Amanita virosa र Amanita verna भने बिषालु च्याउ हाे जुन संकलन गर्दा मिसेर आउने गर्दछ,  जसकाे सेवनबाट मानिसहरू मर्ने गर्दछ । 

(हेर्नुस् फाेटाे)

 

Amanita hemibanpha र Amanita caesarea खाद्य च्याउ हाे । फुल च्याउ, सल्ले च्याउ, सुन्तले छाते च्याउ, खें म्हुकं, घर स्यामाे यी खाद्य च्याउकाे प्रचलित नामहरू हुन । यी नियमित खाने च्याउहरूसँग मेल खाने झट्ट हेर्दा उस्ता उस्तै देखिने Amanita muscaria , Amanita phallooides Amanita pantherina र Amanita gemmata भने बिषालु च्याउ  हुन । कहिले काहि पहिले देखि नै जंगली च्याउकाे संकलन र उपभाेग गरिरहेकाहरु समेत झुक्किएर बिषालु च्याउ पनि संकलन गर्न पुग्छन् जसकाे सेवनबाट मानिसहरू मर्ने गर्दछ ।

   

 

           

त्यस्तै Russula foetens र Russula emetica बिषालु च्याउ हुन तर यी प्रजातिहरूमा पनि Russula Aurora, Russula delica, Russula virescens स्थानीय नाम  कान स्यामाे, मैली स्यामाे खान हुने च्याउहरू हुन ।

 

    

Laccaria amethystina भुई बगाले च्याउ, Lentinula edodes मृगे च्याउ, Ophiocordyceps sinensis यार्सागुम्बा, Scleroderma texens पड्के च्याउ  Ganoderma राताे च्याउ आदि नेपालमा धेरै संकलन गरि खाने च्याउहरू हुन ।

 

       

 

त्यस्तै Lactarius piperatus, Psiocybe cubenis, Suillus luteus, Hygrocybe conica केहि बिषालु च्याउहरू हुन ।

 

        

 

नेपालमा बिषालु च्याउ र खाने च्याउ कसरी छुट्याउने भन्ने सवालमा पनि निकै भ्रम रहेको र परम्परागत रूपमा प्रयोग गर्ने तरिकाहरुबाट पनि बिषालु च्याउ र खाने च्याउ भनेर छुट्याउन नसकिने र यसकाे लागि बिशेष ज्ञान तथा केमिकलकाे प्रयोग वा  प्रयाेगशालामा परिक्षणबाट मात्र बिषालु च्याउ हाे हाेइन भनेर छुट्याउन सकिने कुरा डा. अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार चाँदीको चम्चा राख्दा कालाे भएमा बिषालु च्याउ हुने, टिमुर प्रयोग गर्दा बिष नलाग्ने, किरा लागेको च्याउ बिषालु नहुने, रूख, गाेबरमा उम्रिने च्याउ बिषालु हुदैन भन्ने कुरा सत्य हाेइन । 

 

बिषालु च्याउ काे असर

 

कुनै पनि बिषालु च्याउले मानिसहरूकाे सम्पर्क वा उपभाेगकाे क्रममा बिषालु च्याउकाे जात र असर अनुसार मानविय स्वास्थ्यमा असर गर्ने गर्दछ । 

क) कुनै बिषालु च्याउले मानिसकाे स्नायुमा असर गर्ने हुन्छ जसकाे कारण आलस्य बनाउने, गल्ने, जिब्रो सुनिने हुन्छ ।

ख) कुनै बिषालु च्याउकाे सेवनबाट दिमागमा असर पुर्याउँछ । जसकाे कारण मानिसलाई रिंगटा लाग्ने, बेहाेस हुने, काेमामा जाने आदि समस्या हुने गर्दछ । 

ग) कुनै च्याउ खाँदा मानिसहरूलाई नशा लाग्ने, लठ्याउने गर्दछ ।

घ) त्यस्तै कुनै बिषालु च्याउबाट मानिसको पाचनक्रियामा असर गरि बान्ता गराउने, पेट दुख्ने, पेट र आन्द्रामा घाउ बनाउने पिसाब धेरै गराउने गर्दछ ।

ङ) कुनै बिषालु च्याउबाट श्वास प्रश्वास क्रियामा असर गरि फाेक्साे, मुटुमा असर गर्ने, रक्त विकृत गर्ने, श्वास नली बन्द गर्ने हुन्छ ।

च) कुनै बिषालु च्याउकाे सेवनबाट हाड नशामा असर गरि शरीर कमजाेर बनाउने गर्दछ ।

छ) बिषालु च्याउले मानिसकाे शरीरमा विभिन्न किसिमका असर गर्ने भएकाले गम्भीर प्रकृतिका बिरामी पार्ने र मृत्यु समेत गराउने धेरै सम्भावना हुन्छ ।

 

बिषालु च्याउकाे सेवन गरेमा निम्न अनुसारका लक्षणहरू देखिन्छ ।

१) छाती वा पेट भारि हुने ।

२) पेट भारी भइ आलसतालस हुने ।

३) वान्ता आउला जस्तो हुने ।

४) पेट दुख्ने ।

५) मुटुकाे घड्कन गडबडी हुने ।

६) शारीरिक तापक्रम घट्दै जाने ।

७) रिङ्गटा लाग्ने, झुम्म हुने, र्याल चुहिने, नाकबाट सिंगान बग्ने ।

 

माथि उल्लेखित लक्षणहरू देखिएमा तुरुन्तै नजिकैको अस्पतालमा जाने । अस्पताल पुग्न भन्दा अगाडि निम्न अनुसारका प्राथमिक उपचार गर्ने गराउने ।

१) पाँच छ गिलास मनतातो पानी खुवाउने र दुई औंला मुख भित्र हाली खाएका कुरा सबै निस्कने गरि वान्ता गराउने ।

२) काेइलाकाे (medicated charcoal) मसिनाे धुलाेलाई  पानीसँग मिसाई खुवाउने जसले गर्दा शरिरमा फिजिएको बिषादी साेसेर असर कम गराउँछ ।

३) सकेसम्म धेरै वान्ता गराउने ।

४) कागतीलाई मन तातो पानीमा निचाेरेर खुवाउने ।

५) बिषालु च्याउ खाएकाे व्यक्तिलाई दिसा लाग्ने औषधि खुवाउने । अरु केहि औषधि नखुवाउने ।

६) अधिकतम दिसा भएमा जीवनजल खुवाउने ।

 

माथि उल्लेखित प्राथमिक उपचार बिषालु च्याउकाे असर कम गराइ मानिसकाे ज्यान बचाउने प्रयासमात्र हुन् जुन अस्पताल पुग्नु भन्दा पहिले गरिने कार्य हुन् । बिषालु च्याउकाे सेवन गर्दा कुनै शारीरिक समस्या भएकाे कुनै लक्षण देखिनासाथ नजकैकाे अस्पताल पुर्याउननु नै सबैभन्दा महत्वपूर्ण कुरा हाे ।

 

नेपालमा वर्षेनी बिषालु च्याउबाट मानिसहरु बिरामी पर्ने र मृत्यु समेत हुने धेरै घटना बढीरहेकाेले जन चेतनाकाे लागि वरिष्ठ च्याउ बिज्ञ डा. महेशकुमार अधिकारीज्यूकाे बिशेष सहयोगमा उहाँद्वारा लिखित नेपालका च्याउहरू भन्ने पुस्तककाे आधारमा याे लेख तयार गरिएको हाे । जंगली च्याउ बिषालु हाे हाेइन प्रमाणित गरेर मात्र खाऔं । बिषालु च्याउबाट बचाैं र बचाऔं ।

 

धन्यवाद 

 

सुमन महर्जन

निर्देशक: च्याउ  अनुसन्धान तथा तालिम केन्द्र

संस्थापक: मस नेपाल प्रा.लि.

Share this on Facebook