Our Publications

च्याउ खेती प्रविधि सम्बन्धि महत्वपूर्ण प्रकाशनहरुको सहज रुपमा उपलब्ध गराउनको लागि ।

बहुमूल्य यार्सागुम्बा संकलनमा काेराेनाकाे प्रभाव : समस्या र समाधान

-सुमन महर्जन

बहुमूल्य यार्सागुम्बा संकलनमा काेराेनाकाे प्रभाव : समस्या र समाधान

यार्सागुम्बा एक च्याउ हो । यसलाई अंग्रेजीमा Caterpillar Mushroom भनिन्छ । जसको वैज्ञानिक नाम Ophiocordyceps Sinensis हो । प्राय विश्वका अन्य देशमा नपाइने यार्सागुम्बाकाे प्राकृतिक उत्पादनमा नेपाल दाेस्राे स्थानमा पर्दछ भने पहिलो चीन, तेस्रो र चौथौमा क्रमशः भुटान र भारत पर्दछ ।

 

उच्च पहाडी भेगमा प्राकृतिक रुपमा यसको उत्पादन हुने गर्दछ । छोटोमा भन्नु पर्दा बिभिन्न प्रजातिको झुसिलकिरालाई जव हिउँले ढाक्छ त्यसबेला Ophiocordyceps sinensis प्रजातिको ढुसी हिउँले ढाकेको झुसिलकिरामा फैलिन्छ र झुसिलकिराको पुरै शरिर ढुसीमा परिवर्तन भइ ढुसी परिपक्व अवस्थामा पुगेपछि झुसिलकिराको टाउकाेबाट एउटा टुसा पलाउन थाल्छ । जसलाई हामी यार्सागुम्बाको रुपमा पाउँछौ । वातावरणीय परिवर्तनसँगै हिउँ पग्लन थालेपछि यार्सागुम्बा देखिन थाल्छ र सकंलन गरिन्छ । हाल नेपालमा यार्सागुम्बा संकलन गर्ने समय हाे ।

 

 

यस वर्ष काेभिड-१९ का कारण नेपाल अधिराज्यभर बन्दाबन्दी कायमै रहेको अवस्था र काेभिड-१९ संक्रमणमा नेपाल जाेखिम क्षेत्र रहेको र दिनप्रतिदिन संक्रमित संख्या बढिरहेको हुनाले हालै डाेल्पामा यार्सागुम्बा संकलनमा राेक लगाउने समाचार आएकाे छ । नेपालमा डाेल्पा जिल्ला यार्सागुम्बा संकलनकाे प्रमुख जिल्ला हाे ।

 

धेरै वर्षदेखि प्राकृतिक रुपमा यार्सागुम्बाको संकलन गरिदै आइरहेको छ । उच्च मूल्यमा विक्री हुने यार्सागुम्बा संकलनबाट सरकारले पनि राम्रैसंग राजश्व संकलन गरिरहेकोछ । नेपालकाे कुल गार्हस्थ्य उत्पादनमा समग्र च्याउकाे याेगदान २% रहेको छ भने यार्सागुम्बाकाे मात्रै १% छ । नेपालबाट निर्यात गरि बिदेशी मुद्रा आर्जन गर्नेमा यार्सागुम्बा एक प्रमुख जडिबुटी च्याउ पनि हाे । यसर्थ उच्च भेगका मानिसहरुको मूख्य आय आयआर्जनको स्रोत नै यार्सागुम्बा संकलन रहेको हाे । विगतका समयमा अन्य खेतीपाती गर्ने डाेल्पाका मानिसहरू दशकाै वर्ष देखि बहुमूल्य यार्सागुम्बाकाे संकलनबाट राम्रो आम्दानी हुने भएकाले खेतीपाती समेत छाेडेर यार्सागुम्बा संकलनमा लागेको हुनाले यस वर्ष त्यहाँका मानिसहरुलाई यार्सागुम्बा संकलन गर्न नपाएकाे खण्डमा ठूलो समस्यामा पर्ने निश्चित छ ।

 

 

हुन त बिगत केहि वर्षहरू देखि यार्सागुम्बाकाे निरन्तर एवं अत्यधिक संकलनका कारण यार्सागुम्बाकाे उत्पादनमा निकै कमी आइरहेकाे अवस्था पनि हाे । यार्सागुम्बा संकलनताका प्राय त्यस क्षेत्रका मानिसहरुकाे घुइँचो नै लाग्ने गर्दछ । स्कूल खेतीपाती सब बन्द गरि स-परिवार सहित यार्सागुम्बा संकलन क्षेत्रमा अस्थायी बासस्थान नै वनाएर महिना दिन भन्दा बढि समय यार्सागुम्बा संकलनमा बिताउँछन् ।


यस प्रकार डाेल्पा लगाएत उच्च पहाडी भेगका जनताको जीविकाेपार्जनकाे प्रमुख स्रोतकाे रूपमा रहेकाे यार्सागुम्बा संकलनमा राेक लगाएको खण्डमा नेपालको आए आर्जनमा कमी आउनुकाे साथै यार्सागुम्बा संकलनमा आश्रित हजाराैं परिवार समेत गंम्भिरचरूपमा पिडित हुने भएकाेले त्यहाँका जनताकाे लागि सरकारले विशेष राहतको व्यवस्था गर्नु अत्यन्त जरूरी छ । साथै त्यहाँका जनताहरूले पनि विश्वभर आइपरेको महासंकटकाे घडीमा यार्सागुम्बा संकलनमा जादाँ काेभिड-१९ काे संक्रमण हुने सम्भावना पनि उत्तिकै रहेको हुनाले संयमित भएर यस वर्ष यार्सागुम्बा संकलन कार्य बन्द गर्ने निर्णयकाे पालनामा पूर्ण सहयोग गर्नु पर्दछ । यसबाट प्रभावित हुने आर्थिक समस्या समाधान र जीविकाेपार्जनकाे लागि कुनै विकल्प साेच्ने वा वैकल्पिक व्यवस्थामा ढिलाइ नगरिकन लाग्न अति जरुरी छ ।

 

यार्सागुम्बा संरक्षणकाे महत्वपूर्ण अवसर ।

 

हरेक वर्ष अत्यधिक मात्रामा यार्सागुम्बा संकलन गरिदै आउनु र यार्सागुम्बाकाे उत्पादनमा कमी भइरहेको अवस्थामा एउटा संयोग भन्नु पर्छ कि यस वर्ष संकलन गर्ने नदिने कारणबाट प्राकृतिक रूपमा भने निकै ठूलाे उपलब्धी हुने निश्चित छ । बिगत केहि वर्षहरू देखि यार्सागुम्बाकाे उत्पादनमा कमी आउनु र यार्सागुम्बा उत्पादनमा जाेखिम पनि बढिरहेको छ । नेपालमा खोजेर पाउने सबै चीजहरुको खोजी जारी छ । बहुमूल्य यार्सागुम्बा खोज्न मानिसहरु किन पछि पर्थे र ? तर विडम्बना यसरी खोजी गरि हाम्रो प्राकृतिक सम्पदा सकाउँदै जाने र त्यसको संरक्षणमा पटक्कै ध्यान नदिने हो भने प्रकृतिले जतिसुकै ठूलो भण्डार दिएको भएता पनि एक न एकदिन पक्कै रिटिन्छ भन्ने कुरामा कुनै शंका छैन ।यार्सागुम्बा एउटा उदाहरण बन्दैछ ।

 

 

नेपाल प्राकृतिक दोहनको भयावह अवस्थाबाट गुज्रिरहेको छ । यार्सागुम्बा मात्र होइन कुनै पनि प्राकृतिक सम्पदा माथिको अतिक्रमण अनिधिकृत रुपमा जारी छ । कुनै पनि अवशेष अर्थात बीऊ पनि बाँकी नराखिकन गरिने दोहनबाट विनास, लोप हुनु बाहेक अर्को विकल्प के बाँकी रहला ? यार्सागुम्बा संकलनले त्यही रुप लिदैछ । यहि परिप्रेक्ष्यमा बन्दाबन्दीकाे कारण अझ भनाै काेभिड-१९ का कारणले यार्सागुम्बा संकलन कार्यकाे बन्देजले प्राकृतिक सम्पदाकोकाे संरक्षणमा ठूलो आयाम थप्ने निश्चित छ ।

 

कुनै पनि प्राकृतिक सम्पदाको उपयोग सिमित सिमा भित्र रहेर गर्नु न्यायोचित हुन सक्ला तर बीऊ पनि बाँकी नराखीकन गरिने यस प्रकारको गैर जिम्मेवारी ढंगले गरिने यार्सागुम्बा संकलन कार्य प्रति सम्बन्धित निकाय अथवा नेपाल सरकार गम्भीर हुनु अति जरुरी छ । यार्सागुम्बा विश्वको लागि प्राकृतिक वरदान हो यसको संरक्षण गरिनु पर्दछ । यसको लागि सामान्य प्राकृतिक रुपमा संरक्षण गर्नको लागि यस वर्ष महत्वपूर्ण वर्ष हाे । यसलाई काेभिड-१९ बाट बच्ने र बचाउने उपाएकाे रूपमा लिनुका साथै यार्सागुम्बाकाे संरक्षणकाे महत्वपूर्ण कार्यकाे रूपमा पनि लिन सकिन्छ ।

 

 

यसकाे सामान्य केही बुदाँगत सुझाव पेश गर्न चाहन्छु ।

 

- यार्सागुम्बा प्राकृतिक सम्पदा हो यसको संरक्षण गरिनु पर्छ भन्ने चेतना फैलाउने ।
- नेपालमा जति पनि यार्सागुम्बा उत्पादन हुने क्षेत्रहरु छन त्यसको पहिचान र सिमाङ्कन गर्ने ।
- एकै पटक सबै क्षेत्रमा संकलन गर्न नदिने
- नेपालबाट उत्पादन हुने वार्षिक उत्पादनलाई आधार बनाई प्रत्येक वर्ष ६० देखि ७० प्रतिशत मात्र संकलन गर्न दिने ।
- एक वर्ष संकलन गरिको स्थानमा कम्तिमा दुई वर्ष सम्म सोही स्थानमा संकलन गर्न नदिने ।
- एकै स्थानमा धेरै मानिसहरुलाई लामो अवधिसम्म संकलन गर्न नदिने ।
- संकलनकर्तालाई तालिम व्यवस्था गर्ने वा प्रशिक्षितहरुलाई मात्र संकलन गर्न दिने ।
-यस वर्ष काेभिड-१९ का कारण हुनु गइरहेको यार्सागुम्बा संकलन कार्य बन्देजबाट हजाराैं परिवार प्रभावित हुने भएकाेले नेपाल सरकारबाट त्यस क्षेत्रका नागरिकहरुको लागि उचित राहतको व्यवस्था गरि चाेरि निकासी हुनबाट बचाउन पनि उत्तिकै ध्यान जानु जरुरी छ ।

 

 

माथि उल्लेखित बुँदाहरु सामान्य रुपमा प्राकृतिक संरक्षणमा टेवा पुग्ने हिसावले मात्र दिन खोजेको हो । जसले प्राकृतिक रुपमा एक स्थानमा बीऊ पनि बाँकी नराखिकन संकलन गर्दा हुन जाने उत्पादनको कमीलाई धेरै हद सम्म टेवा पुग्दछ र यार्सागुम्बाको उचित संरक्षण एवं निरन्तर उत्पादनको लागि वैज्ञानिक अध्ययन, अनुसन्धान अत्यन्त जरुरी छ । वैज्ञानिक तरिकाबाट संरक्षण गरिनुपर्छ । यसको लागि सम्बन्धित निकाय, नेपाल सरकारको यथाशीघ्र ध्यान जाओस् ।

 

सुमन महर्जन
निर्देशक
च्याउ अनुसन्धान तथा तालिम केन्द्र
मस नेपाल प्रा. लि.

(स्रोत: डा. महेशकुमार अधिकारी, डा. गिरिराज त्रिपाठी, नास्टबाट प्रकाशित यार्सागुम्बा सम्बन्धित पुस्तक, गुगल सर्च, बिभिन्न Research Paper, फेसबुक पेज)

Share this on Facebook